गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनअघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । चुनाव सकिएर जनप्रतिनिधिले शपथ लिइसकेको अवस्थमा पुन: प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरू हेरफेर हुने चर्चा चल्न थालेको छ।
गठबन्धन आवद्ध दलमा कुनै विवाद नरहेको समयमा एकाएक मन्त्रीहरू हेरफेर हुने चर्चाले सबैको ध्यान तानेको छ । जुन स्वभाविक पनि हो । मन्त्रिपरिषद् हेरफेरबारे गठबन्धनकै नेताहरूले फरक-फरक मत राख्ने गरेका छन्। माओवादी केन्द्रका एक नेताले प्रदेश र संघको चुनाव आउन पाँच/छ महिना मात्रै रहेकाले अहिलेकै मन्त्रीहरूले निरन्तरता पाउने बताएका छन् ।
नेताहरूबीच असन्तुष्टि बढेर चुनाव प्रभावित हुनसक्ने भन्दै नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले अहिलेकै मन्त्रीहरूले निरन्तरता पाउने बताएका हुन् । कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको चुनाव हुने भएकाले गठबन्धन आवद्ध नेताहरूबीच मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै छलफल नभएको उनले बताए।
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल पनि मन्त्री हेरफेरका विषयमा चर्चा नै नभएको दाबी गर्छन् । गठबन्धनमा सहमति भएमा हेरफेर हुने विषय आफ्नो ठाउँमा रहे पनि अहिले त्यो विषयमा कुनै चर्चा नभएको उनले बताए । एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीको भने मन्त्रिपरिषद् हेरफेर हुने दाबी छ । उनी यस विषयमा छलछल भइरहेको दाबी गर्छन् ।
गठबन्धन र पार्टीभित्रै मन्त्री हेरफेरको चर्चा भइरहेको उनी बताउँछन् । कांग्रेसका नेताहरू पनि अहिले मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै छलफल नभएको बताउँछन् । सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल नभएको कांग्रेसका नेताहरू बताउँछन् ।







