आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए। समिटको जहाज अघि थियो भने ताराको ९एन एइटी जहाजपछि थियो।
जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए।
‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’
समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो।
जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।
सुरूमा कुरा हुँदा क्याप्टेन प्रभाकर घिमिरेले अरू बेलाजस्तै सामान्य कुरा गरेका थिए। ‘उहाँ यो रूटमा उडाइरहने अनुभवी पाइलट हो,’ शर्माले भने।
जहाजसँग सम्पर्क नभएपछि पोखरा र काठमाडौं विमानस्थललाई जानकारी दिइएको उनले बताए। टावरसँग सम्पर्कमा नआएको जहाज अहिलेसम्म फेला परेको छैन। जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो। १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।
फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा सिखा क्षेत्रबाट हराएको देखिन्छ।







