प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवार बनि तेस्रो भएका केशव स्थापितले आफ्नो पराजयपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
आफ्नो पराजयलाई सहज रुपमा स्विकार गर्दै स्थापितले भारी मतका साथ मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उमेदवार बालेन शाहलाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले गर्ने हरेक रचनात्मक काममा आफ्नो सहयोग र समर्थन रहने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
राम्रो गरेमा सहयोग र नराम्रो गरेमा खबरदारी गर्छु भनेका स्थापितले नवनिर्वाचित मेयर बोलेन शाहले आफूलाई मत नदिने जनताको पनि मन जित्ने गरि काम गर्ने विश्वास व्यक्त गरेका छन् । आफ्नो पुस्तौँ पुस्ता काठमाडौँकै माटोमा जन्मिएको भन्दै उनले, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम रहेको बताएका छन् ।
आफ्नो सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद ज्ञापन गर्दै स्थापितले म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरको उमेदवार बनि पराजित भएका केशव स्थापितले आफ्नो पराजय पश्चात सबैलाई धन्यावाद दिँदै आफ्नो सामाजिक संजाल मार्फत व्यक्त गरेको विचार यस्तो छ ।
धन्यवाद ज्ञापन
मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ महानगरपालिका’ मा नेकपा (एमाले)को तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईँहरु सबैलाई विदितै छ । सबै भन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले) प्रति आभार व्यक्त गर्न चाहन्छु ।
म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।
जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन् । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन ।
निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’ मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।
पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु ।
लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्नुभएका अध्यक्ष र विभिन्न वडाबाट विजयी हुनु भएका सदस्यहरु सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गर्दछु । त्यसैगरी अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु ।
अन्त्यमा, मलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरवासी, मेरो उम्मेदवारी दर्तासँगै मेरो चुनावी अभियानमा खटिनु भएका पार्टीको विभिन्न तह–तप्कामा रहनु भएका कमरेडहरु, सुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरुकै साथमा रहने प्रण व्यक्त गर्दछु ।







