काठमाडौं महानगरपालिकाको ३२ वडा मध्य २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको हाे ।
हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार शाहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् । अर्थात कुल खसेको सदर मतको ३८.१९ प्रतिशत मत पाएका छन् । दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । उनले कुल खसेको मतको २४.०३ प्रतिशत मत ल्याएका छन् ।
चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । जुन कुल सदर मतको ८.६२ प्रतिशत हो ।






