काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेललाई दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ, किनकि आजको खेलमा विजयी हुने टोली सीधा प्लेअफमा प्रवेश गर्नेछ।
अङ्क तालिकामा हाल काठमाडौं गुर्खाज ५ खेलमा ४ जित र १ हारसहित ८ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने सुदूरपश्चिम रोयल्स ६ खेलमा ४ जित र २ हारसहित ८ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ। आजको खेलमा बाजी मार्ने टोलीले १० अङ्क पुर्याउँदै प्लेअफको यात्रा पक्का गर्नेछ।
यसअघि हिजो सम्पन्न खेलमा कर्णाली याक्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ९ अङ्कका साथ एनपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ। ६ खेलमा ४ जित, १ हार र १ खेल बराबरी (अङ्क बाँडफाँड) को नतिजा निकालेको लुम्बिनी शीर्ष स्थानमा कायम छ।
लुम्बिनीले आफ्नो स्थान पक्का गरिसकेको अवस्थामा, अब आजको खेलबाट प्लेअफको टिकट काट्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ।




