काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा कर्णाली याक्स पोखरा एभेन्जर्ससँग पराजित भएको छ । सोमबारको पहिलो खेलमा कर्णालीले खराब प्रदर्शन गर्दै ६३ रनको हार ब्यहोरेको हो । २१८ रनको ठूलो लक्ष्य पछ्याएको कर्णाली खेल सकिन ९ बल बाँकी हुँदै १५४ रनमा अल आउट भयो । कर्णालीका पवन सर्राफले सर्वाधिक ३२ रन बनाएपनि ब्याटरहरु लगालगजसो आउट हुँदै पोखरासामु आत्मसमर्पण गरेका थिए । १९ रन जोड्दा पहिलो विकेट गुमाएको कर्णालीले २५ मा दोस्रो, ५५ मा तेस्रो, ५६ मा चौथो, ६९ मा पाँचौ र ७२ रनमा छैटौँ विकेट गुमाएको थियो ।
कर्णालीका ओपनर आरिफुल इस्लामले १३ बलमा दुई दुई चौका र छक्काको मद्दतमा २४ रन बनाउँदै राम्रो शुरुवात गराएका थिए तर अर्का ओपनर जिसन आलम रनको खातै नखोली आउट भए । त्यसपछि आएका मार्क वाटले १४ बलमा मात्र ८ रन बनाउन सके । दीपक डुम्रेले ७ बलमा ३१४ को स्ट्राइक रेटमा २२ रन बनाएर आउट भए । त्यस्तै आफ्नो पहिलो खेलमा ९३ रन बनाएका किलर मिलर उपनामले चिनिने डेभिड मिलर पनि आज चल्न सकेनन् । उनले ९ बलमा मात्र ७ रन बनाए भने टिकेर रन बनाउनुपर्ने खेलमा अर्का ब्याटर गुल्सन झाले ३ बलमा २ रन मात्र बनाएर आउट भए । फलतः कर्णाली ७२ रन जोड्दा ६ विकेट गुमाएर कमजोर अवस्थामा पुगिसकेको थियो ।
पोखराका लागि मेहदी हसनले ३ तथा धनञ्जय लक्षण, कुशल भुर्तेल र विपीन खत्रीले दुई दुई विकेट लिए । त्यसअघि युवराज सिंह साम्रालको शतक र कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले २० ओभमरमा मात्र ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेका पोखराका लागि साम्राले जारी सिजनको पहिलो शतक प्रहार गर्ने क्रममा मात्र ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन जोडे । भारतीय मूलका क्यानडेली खेलाडी साम्रा केही दिन अघि मात्र पोखराको टोलीबाट खेल्न काठमाडौँ आइपुगेका हुन् । यस्तै, कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।
पोखराले बनाएको २१७ रन जारी सिजनको अहिलेसम्मको सर्वाधिक स्कोर हो भने समग्र एनपीएलको दोस्रो ठुलो योगफल हो । सन् २०२५ मा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससँगको खेलमा २२० रन बनाएको थियो । साम्रा एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी बनेका छन् । यसअघि पोखराका आन्द्रे गौस र एडम रोसिङ्टन शतक प्रहार गरेका थिए । दोस्रो विकेटका लागि सम्रा र भुर्तेलले १३६ रनको साझेदारी गरे जुन जारी प्रतियोगिताको सर्वाधिक ठुलो साझेदारी पनि हो । यस्तै एनपीएल इतिहासमा यो उच्च साझेदारी हो ।
कप्तान चमिका करुणारत्नले ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित २५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिएका थिए ।




