दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिए ।

उनले हालसम्म त्यस्ता ठगी केन्द्रबाट ८६० जना नेपाली नागरिकको उद्धार गरिसकिएको बताए । उनले उद्धार गरिएका तथा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित देशका सरकारी निकायसँग आवश्यक समन्वय भइरहेको बताए ।

ठगीमा परेका नेपाली तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासमा सम्पर्क गर्ने क्रम जारी रहेको बताए ।

यस्तै, मन्त्रालयले साउदी अरेबियामा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको जनाएको छ । साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको नेपाल सरकारले यसअघि नै भत्र्सना गरिसकेको प्रवक्ता पौडेल क्षेत्रीले बताए । मन्त्रालयले गत असोज २५ गते प्रेस विज्ञप्ति जारी गर्दै विवादको समाधान शान्तिपूर्ण माध्यमबाट गर्न आह्वान गरेको थियो ।

सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुनेमा नेपाल सरकारले जोड दिएको उनले बताए ।

कात्तिक ४ गते भएको घटनामा एक नेपाली नागरिकको दुःखद् निधन भएको जानकारी दिँदै मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । मृतकको शव नेपाल ल्याउने विषयमा नेपाली राजदूतावास रियादबाट आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

क्षेत्रीय सहयोगअन्तर्गत बिमस्टेकको पहिलो गृह मन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । १३ अक्टोबर २०२६ मा सम्पन्न बैठकले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य र संयुक्त प्रतिकार्य सुदृढ गर्ने विषयसहित २६ बुँदे घोषणापत्र जारी गरेको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले बिमस्टेक सदस्य राष्ट्रहरूका साझा सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

यसैगरी, सार्कको १५औँ महासचिवका रूपमा कार्यकाल पूरा गरी महासचिव मोहम्मद गोलाम सरवार स्वदेश फर्किएको बताए । सार्कको १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने उनले बताए ।

यस अवधिमा विभिन्न पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । मन्त्रालयका अनुसार असोज २८ गते नेपालका लागि युरोपेली संघ, इन्डोनेसिया, सुडान गणतन्त्र, घाना र ब्रुनाई दारुसलामका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तीन महिनाको अवधि पूरा भएको जनाएको छ । प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउने काममा मन्त्रालय र सम्बन्धित विभाग प्रतिबद्ध रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए ।

हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगमा लाइभ इनरोलमेन्ट सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

नयाँ प्रणालीबाट हालसम्म करिब २ लाख ५० हजार राहदानी छपाइ भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *