अब काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन पाउने, कुन प्रदेशको कहाँ ?

काठमाडौं । अन्य जिल्लाका नेपाली नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको हो।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको छ।

जारी सूचना अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा पाउनेछन्।

नागरिकता आगलागीमा परी नष्ट भएको, पानीले भिजेर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछन्।

नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता बाहकलाई भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *