लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अध्यक्ष जिसीले अघिल्लो सिजनको फाइनलसम्मको यात्रालाई महत्वपूर्ण अनुभवका रूपमा लिँदै यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । उनका अनुसार टोलीले अघिल्लो सिजनका केही प्रमुख खेलाडीलाई निरन्तरता दिँदै नयाँ खेलाडीसमेत समावेश गरेको छ ।

‘हामीले अघिल्लो सिजनका अनुभवबाट सिकेर यस वर्ष अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छौँ । च्याम्पियन टोलीका केही खेलाडीलाई निरन्तरता दिँदै नयाँ सदस्य पनि थपेका छौँ,’ जिसीले भने, ‘हामी यसपटक अझ राम्रो खेल्दै आफूलाई पुनः प्रमाणित गर्न चाहन्छौँ ।’

डार्सी सर्ट, निरोशन डिकवेला र रुबेन ट्रम्पलम्यानलाई निरन्तरता

लुम्बिनी लायन्सले अघिल्लो सिजन प्रभावशाली प्रदर्शन गरेका विदेशी खेलाडीलाई टोलीमा निरन्तरता दिनुलाई महत्वपूर्ण निर्णयका रूपमा लिएको छ । अध्यक्ष जिसीले अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका निरोशन डिकवेला र एसोसिएट क्रिकेटका चर्चित खेलाडी रुबेन ट्रम्पलम्यानको योगदानलाई विशेष रूपमा उल्लेख गरे ।

उनका अनुसार डार्सी सर्टले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । अघिल्लो एनपीएलमा पनि उनले उत्कृष्ट ब्याटिङ गरेका कारण उनलाई टोलीबाट बाहिर राख्ने अवस्था नरहेको जिसीले बताए ।

त्यस्तै, सुरुवाती चरणमा अपेक्षाअनुसार प्रदर्शन हुन नसके पनि निरोशन डिकवेलाको आगमनपछि टोलीको मनोबल र खेलको लयमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । ट्रम्पलम्यानलाई पनि अघिल्लो सिजनको उत्कृष्ट खेलाडीका रूपमा सम्मान गर्दै टोलीमा निरन्तरता दिइएको उनले बताए ।

‘लुम्बिनी लायन्स एउटा परिवार हो । खेलाडी, व्यवस्थापन र हामीसँग जोडिएका समर्थक सबै यही परिवारका सदस्य हौँ । खेलाडीलाई विश्वास गर्छौँ र उनीहरूको योगदानलाई सम्मान गर्छौँ,’ जिसीले भने ।

अन्तर्राष्ट्रिय स्तरमा अझ चर्चित खेलाडी समावेश भएको हेर्न चाहने समर्थकको अपेक्षालाई पनि आफूहरूले सम्मान गर्ने उनले बताए । यद्यपि, खेलाडीको व्यस्तता, उपलब्धता, खेल तालिका र टोलीको आवश्यकताअनुसार विदेशी खेलाडी छनोट गर्नुपर्ने भएकाले सबै अवस्थामा चाहेजस्ता खेलाडी ल्याउन सम्भव नहुने उनको भनाइ छ ।

कसैलाई कमजोर ठानेका छैनौँ

अध्यक्ष जिसीले यसपटक एनपीएलका आठवटै टोली प्रतिस्पर्धात्मक अवस्थामा रहेको बताए । कुनै एक टोलीलाई विशेष रूपमा कमजोर वा बलियो ठानेर रणनीति बनाउनेभन्दा सबै प्रतिस्पर्धीलाई समान सम्मानका साथ हेर्नुपर्ने उनको धारणा छ ।

उनका अनुसार पहिलो संस्करणमा टोली निर्माणका लागि पर्याप्त समय नपाउँदा फ्रेन्चाइजहरूले केही चुनौती सामना गरेका थिए । दोस्रो संस्करणमा अनुभव र तयारीमा सुधार आएको थियो भने तेस्रो संस्करणमा टोलीहरू अझ सन्तुलित बनेका छन् ।

‘म सबै टोलीलाई समान रूपमा हेर्न चाहन्छु। यसपटक आठवटै टोली राम्रा छन् र निकै प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरेको छु,’ उनले भने ।

टोलीको रणनीति र विपक्षीको विश्लेषण गर्ने जिम्मेवारी प्राविधिक टोलीले सम्हालिरहेको उल्लेख गर्दै जिसीले आफूले सबै प्रतिस्पर्धीलाई सम्मान गर्ने बताए ।

डीआरएसले खेलाडी र समर्थकको विश्वास बढाउँछ

एनपीएलमा प्रविधिको प्रयोग बढ्नु सकारात्मक कदम भएको अध्यक्ष जिसीको भनाइ छ । अघिल्लो सिजन केही निर्णयमा मानवीय त्रुटि हुनसक्ने विषय उठेको स्मरण गर्दै उनले निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोगले खेललाई अझ विश्वसनीय बनाउन मद्दत गर्ने बताए ।

उनका अनुसार प्रविधिले खेलाडीको आत्मविश्वास बढाउनुका साथै समर्थकमा पनि खेलप्रतिको उत्सुकता र विश्वास बढाउँछ ।

‘प्रविधिलाई हामीले अपनाउनैपर्छ । यसको अधिकतम उपयोग गर्न सकियो भने राम्रो हुन्छ । सानो मानवीय त्रुटिले ठूलो असर पार्न सक्ने अवस्थामा डीआरएसले खेलाडी र समर्थक दुवैको विश्वास बढाउँछ,’ जिसीले भने ।

प्रविधि प्रयोग गर्दा खर्च बढ्ने भएपनि त्यसले प्रतियोगिताको गुणस्तर र विश्वसनीयता सुधार गर्छ भने खर्चलाई समस्याका रूपमा लिन नहुने उनको धारणा छ ।

एनपीएल आर्थिक लाभभन्दा पनि नेपाली क्रिकेटमा योगदान गर्ने अवसर

लुम्बिनी लायन्सले फ्रेन्चाइज क्रिकेटमा लगानी गर्दा तत्काल नाफाभन्दा नेपाली क्रिकेटको विकासमा योगदान गर्ने उद्देश्यलाई प्राथमिकता दिएको अध्यक्ष जिसीले बताए ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइजहरूलाई सुरुवाती पाँच वर्ष आर्थिक रूपमा सबल बन्ने आधार तयार गर्नुपर्ने र त्यसपछि मात्र लगानीको प्रतिफल अपेक्षा गर्न सकिने सोचका साथ अघि बढ्न सुझाव दिएको थियो ।

यस वर्ष रसुवामा आएको बाढी तथा विपद्का कारण आर्थिक योजनामा असर परेको उल्लेख गर्दै उनले अन्यथा टोली ‘ब्रेकइभन’मा पुग्ने सम्भावना रहेको बताए । यद्यपि, फ्रेन्चाइजको मुख्य उद्देश्य नेपाली क्रिकेटको विकास यात्रामा योगदान गर्नु रहेको उनको भनाइ छ ।

उनले एनपीएलले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै युवामा आफ्नै देशमा बसेर पनि सम्भावना खोज्न सकिन्छ भन्ने आत्मविश्वास जगाएको बताए । क्रिकेट, पर्यटन र खेलकुदको विकाससँगै स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न एनपीएलले प्रेरणा दिएको उनको भनाइ छ ।

स्थानीय खेलाडीको विकासमा ‘रेड पल्टन च्याम्पियनसिप’

लुम्बिनी लायन्सले स्थानीय प्रतिभा पहिचान र विकासलाई पनि प्राथमिकता दिएको छ । अध्यक्ष जिसीका अनुसार फ्रेन्चाइजले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ‘रेड पल्टन च्याम्पियनसिप’ आयोजना गरेको थियो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रतिभा खोजी प्रक्रियामार्फत टोलीमा समावेश गरिएको उनले बताए ।

यसका अतिरिक्त क्यानको व्यवस्थाअनुसार नेपाली खेलाडीलाई थप अवसर दिने उद्देश्यले खेलाडी छनोट गरिएको उनको भनाइ छ ।

उनका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्छन् । क्रिकेट खेलेर व्यावसायिक जीवन बनाउन र देशको प्रतिनिधित्व गर्न सकिन्छ भन्ने विश्वास युवामा विकास हुनु सकारात्मक उपलब्धि भएको उनले बताए ।

लुम्बिनीको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य

लुम्बिनी लायन्सले क्रिकेटलाई खेलमा सीमित नराखी लुम्बिनी प्रदेशको संस्कृति, इतिहास र पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत उपयोग गर्न खोजेको अध्यक्ष जिसीले बताए ।

उनका अनुसार टोलीको नाम, लोगो र जर्सीमा लुम्बिनीको पहिचान झल्काउने प्रतीक तथा सांस्कृतिक पक्षलाई समेटिएको छ । पहिलो र दोस्रो सिजनका जर्सीसमेत लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सार्वजनिक गरिएको उनले स्मरण गरे ।

टोलीको लोगोमा मायादेवी मन्दिरको प्रतीकात्मक स्वरूप समेटिएको उल्लेख गर्दै उनले रातो रङमार्फत राष्ट्रिय गौरव तथा नेपाली पहिचानलाई प्रतिनिधित्व गरिएको बताए । जर्सीमा पाल्पाली ढाकालगायत स्थानीय संस्कृति झल्काउने पक्षलाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थललाई एनपीएलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास भइरहेको उनले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, सुपा देउराली, बागेश्वरी मन्दिर, रानीमहललगायत क्षेत्रको पहिचान विस्तार गर्न खेलकुदले सहयोग पु¥याउन सक्ने उनको विश्वास छ ।

‘हामी लुम्बिनीका प्रत्येक ठाउँको पहिचानलाई आत्मसात् गरेर अघि बढिरहेका छौँ। लुम्बिनीलाई अझ अगाडि लैजानु र यहाँका सम्पदा तथा संस्कृतिलाई चिनाउनु हाम्रो उद्देश्य हो,’ उनले भने ।

एनपीएललाई अझ व्यावसायिक र जनस्तरसम्म जोड्न घरेलु मैदानमा खेल सञ्चालन गर्ने व्यवस्था आवश्यक रहेको अध्यक्ष जिसीले बताए । सरकारले प्रत्येक प्रदेशमा स्टेडियम निर्माण गर्ने विषयलाई बजेटमार्फत अघि बढाउनु सकारात्मक कदम भएको उनको भनाइ छ ।

होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न फ्रेन्चाइजका गृहक्षेत्रमा आवश्यक खेल पूर्वाधार उपलब्ध हुनुपर्ने उनको भनाई छ । त्यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने उनले बताए । ‘यदि सरकारसँग पर्याप्त बजेट छैन भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढ्न सकिन्छ । हामी त्यसका लागि सहकार्य गर्न तयार छौँ,’ जिसीले भने ।

लुम्बिनी प्रदेशमै लुम्बिनी लायन्सका खेल सञ्चालन गर्न पाए त्यो प्रदेशका लागि गौरवको विषय हुने उनले बताए । स्थानीय मैदानमा खेल हुँदा समर्थकको सहभागिता बढ्ने, पर्यटन प्रवद्र्धन हुने र स्थानीय अर्थतन्त्र चलायमान बन्ने उनको अपेक्षा छ ।

विदेशी खेलाडी भित्र्याउन कानुनी प्रक्रिया सहज बनाउनुपर्ने

अध्यक्ष जिसीले विदेशी खेलाडीलाई नेपाल ल्याउँदा भिसा, कर र भुक्तानी प्रक्रियामा देखिने जटिलताले फ्रेन्चाइजलाई चुनौती थपेको बताए ।

उनका अनुसार विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन गर्न कठिनाइ उत्पन्न गरेको छ ।

विशेषगरी चर्चित विदेशी खेलाडीले अग्रिम भुक्तानी माग्ने अवस्थामा उनीहरू नेपाल आइपुगेर प्रवेश प्रक्रिया पूरा गरेपछि मात्र भिसा परिवर्तन र आवश्यक स्वीकृतिमार्फत रकम पठाउन सकिने प्रक्रियाले समस्या सिर्जना गर्ने उनले बताए ।

यस्ता प्रशासनिक जटिलता समाधान गर्न सके खेलकुद क्षेत्र मात्र नभई अन्य उद्योगमा पनि विदेशी विज्ञ तथा विशेषज्ञको सहभागिता सहज हुने जिसीको धारणा छ ।

‘विदेशी खेलाडी तथा विशेषज्ञलाई सहज रूपमा ल्याउन सकियो भने खेलकुदसहित अन्य क्षेत्रले पनि लाभ लिन सक्छन् । यसले नेपालमा कुन क्षेत्रमा विशेषज्ञताको आवश्यकता छ भन्ने पहिचान गर्नसमेत सहयोग पुर्याउन सक्छ,’ उनले भने ।

उनले क्रिकेटको विकासमा योगदान पुर्याइरहेको क्यानको नेतृत्व, जिल्ला तथा स्थानीय क्रिकेट संघ र सम्पूर्ण क्रिकेटप्रेमीलाई धन्यवादसमेत दिए ।

समर्थकको मायालाई प्रदर्शनमार्फत सम्मान गर्ने प्रतिबद्धता

अध्यक्ष जिसीले लुम्बिनी लायन्सका समर्थक, ‘रेड पल्टन’ र नेपाली क्रिकेटप्रेमीलाई निरन्तर साथ दिन आग्रह गरे । टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै समर्थकको विश्वास कायम राख्ने प्रयास गर्ने उनको भनाइ छ । उनले एनपीएलको विकासलाई नेपाली क्रिकेटको मात्र नभई समग्र देशको गौरवसँग जोड्दै प्रतियोगिताको स्तर बढ्दै जाँदा यसको आर्थिक, सामाजिक र पर्यटनसम्बन्धी योगदान पनि विस्तार हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *