काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ। यसअन्तर्गत नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन्।
काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आइतबार आयोजित कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो। एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान खरिद गरेकी तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी हुन्।
पुरस्कार विजेता तामाङलाई कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए।
कार्यक्रमअन्तर्गत अन्य १६ जनाले जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्। पुरस्कार घोषणा कार्यक्रममा अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।





