काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो सार्वजनिक भएपछि आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
मंगलबार बिहान फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सांसद सुनारले आफूले संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारबारे प्रश्न उठाएपछि विभिन्न आरोप लगाएर घेराबन्दी गर्न खोजिएको दाबी गरेका हुन्।
उनले प्रहरीभित्रको अनियमितताविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वबाट धम्की दिने काम भएको गम्भीर आरोपसमेत लगाएका छन्।
सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सांसद सुनारले उक्त अडियो आफ्नो नभएको र कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत जोडेर प्रचार गरिएको दाबी गरेका छन् ।
कसैले मुद्दा नहालेपछि मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र अन्य व्यक्तिको चरित्रहत्या गर्ने खेल रचिएको उनको जिकिर छ। आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्य संयन्त्रबाट हुने निष्पक्ष छानबिनलाई सघाउन तयार रहेको बताएका छन्।
यदि आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको ठहरिएमा पार्टीको केन्द्रीय समिति तथा सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन्।





