‘नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छ’ : प्रियराज रेग्मी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन् ।

बुधवार अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा उनले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वशर्तजस्तै रहेको उल्लेख गरे। रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने उनको भनाइ छ।

पुँजी बजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीहरूको स्तरीकरण तथा मानकीकरण गर्नुपर्नेमा जोड दिँदै उनले सुधार प्रक्रियामा उनीहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत हुने अनियन्त्रित सूचना प्रवाह र निःशुल्क परामर्शका नाममा फैलाइने भ्रमले पुँजी बजारलाई प्रभावित गरिरहेकाले त्यसलाई नियमन गर्न आवश्यक छ।

रेग्मीले बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको सङ्ख्या र भूमिका बढाउनुपर्ने बताए। संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था पनि सुधार गर्नुपर्ने उनले स्पष्ट पारे। उनका अनुसार व्यक्तिगत र संस्थागत लगानीकर्ताले तिर्नुपर्ने करको दरमा रहेको भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको छ। त्यसैले संस्थागत लगानीकर्तामाथिको करको भार घटाउनुपर्छ।

व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने भएपछि संस्थागत लगानीकर्ता निरुत्साहित हुने उनले बताए। संस्थागत लगानीकर्ताको सहभागिता कमजोर हुँदा बजार व्यक्तिगत लगानीकर्ताले मात्रै सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने चेतावनी उनले दिए।

बैठकमा बोल्दै सभापति रेग्मीले भने, ‘नेपाल सरकारले घोषणा गरेका कार्यक्रम तथा धितोपत्र बोर्डले परिमार्जन गर्न लागेका नीति-नियम कार्यान्वयन गर्न नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नु पूर्वशर्तजस्तै देखिन्छ। यसलाई सहयोग गर्न ब्रोकर र मर्चेन्ट बैंकरलगायत व्यवसायीहरूको स्तरीकरण र मानकीकरण गर्नुपर्छ। सामाजिक सञ्जाल नियमनमा नहुँदा बजारमा भ्रम सिर्जना भएको छ भने निःशुल्क परामर्शका नाममा गलत सूचना प्रवाह गर्ने प्रवृत्तिले पनि बजारलाई प्रभावित गरिरहेको छ।’

उनले अगाडि भने, ‘हामीले आईपीओ निष्कासन प्रक्रियालाई बुक बिल्डिङमार्फत अगाडि बढाउने भने पनि संस्थागत लगानीकर्ताको सङ्ख्या निकै कम छ। व्यक्तिगत लगानीकर्ताले कारोबार गर्दा पुँजीगत लाभकरको दर ३.७५ प्रतिशतसम्म पुगेको छ, तर संस्थागत लगानीकर्ताले वार्षिक रूपमा तिर्नुपर्ने कर २५ वा ३० प्रतिशत भन्ने विषयमा विवाद छ। संस्थागत लगानीकर्ताको सहभागिता नबढेसम्म व्यक्तिगत लगानीकर्ताले मात्र बजार सञ्चालन गर्ने अवस्था रहन्छ र यसले अस्थिरता निम्त्याउँछ। साथै नेप्सेको बजार पुँजीकरण र सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट सेयरलाई आधार बनाइनुपर्छ।’

नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा सुधार गर्दै बजारको वास्तविक अवस्था प्रतिबिम्बित गर्न फ्लोट सेयरलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, व्यवसायीहरूको मानकीकरण र सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *