काठमाडौं ।पहिरोका कारण अवरुद्ध हुँदै आएको पृथ्वीराजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआए दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारीसाधन दोहोरो रूपमा सञ्चालन हुनेछन्।
विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि केही दिनयता पृथ्वीराजमार्गमा एकतर्फी रूपमा मात्र सवारी आवागमन भइरहेको छ। सडकमा रहेका अवरोध हटाउने तथा भासिएका स्थानमा आवागमन सहज बनाउने काम भइरहेको प्रशासनले जनाएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ। थप पहिरो वा अन्य अवरोध आएमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पालना गर्नसमेत प्रशासनले अनुरोध गरेको छ।
राजमार्गमा यात्रा गर्दा आवश्यक सहयोग परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ।




