शान्ति सुरक्षाको माग गर्दै पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले दिए प्रहरीमा निवेदन

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिइएको हो।

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ। राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको निवेदनमा उल्लेख गरेका छन्।

आफूले केही विषयबारे पछिल्लो समय प्रहरी कार्यालयमा जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै राणाले सुरक्षा थप गर्न माग गरेका हुन्। निवेदनमा राणाले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *