दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। दुवै बैंकले लाभांश तथा साधारणसभा प्रयोजनका लागि भोलि असोज १ गते बुक क्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म कायम शेयरधनीहरू मात्र दुवै बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सानिमा बैंकले आगामी असोज १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा २२औँ वार्षिक साधारणसभा बोलाएको छ। बिहान ११ बजेबाट सुरु हुने सभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ। साथै, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गरिनेछ।

यस्तै, एभरेष्ट बैंकले आगामी असोज १४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमै ३२औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। बिहान १० बजेबाट सुरु हुने सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

बोनस शेयर वितरणपछि बैंकको पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि एभरेष्ट बैंकको सभामा पेश हुनेछ।

दुवै बैंकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत साधारणसभाबाट अनुमोदन गराउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *