काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए ।
उनले भने,‘भर्खरै मात्रै बागमती प्रदेशको चारवटा जिल्लामा महाविपत्तिले नोक्सान भएको छ । विशेषगरी १५ वटा पालिका प्रभावित छ । रसुवाको ४ वटा पालिका, त्यसैगरी नुवाकोटको ४ वटा पालिका, धादिङको ४ वटा पालिका र चितवनको केही पालिका गरेर १५ वटा पालिकाहरु नोक्सान भएको छ ।’
उनका अनुसार रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । ती क्षेत्रमा मानवीय क्षतिका साथै पालिका कार्यालय, स्वास्थ्य चौकी, अस्पताललगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको उनले बताए । जनप्रतिनिधिले समेत विपद्मा ज्यान गुमाएको उनको भनाइ छ ।
त्यसैगरी नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका प्रभावित भएका छन् । चितवनका केही स्थानीय तहमा समेत ठूलो क्षति भएको मुख्यमन्त्री थापाले बताए ।
उनका अनुसार बाढीबाट छ वटा जलविद्युत् आयोजना प्रभावित भई ६६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन अवरुद्ध भएको छ । बाढीका कारण ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त भएको र मानवीय क्षतिको पूर्ण विवरण संकलन भइरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री थापाका अनुसार भाद्र १० गते बिहान ८ः४६ बजे रसुवाको लेन्दे क्षेत्रमा हिमताल तथा हिमनदी फुटेर आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पु¥याएको थियो । बाढीले स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, बेत्रावती, बट्टारलगायतका क्षेत्रमा बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति गरेको उनले बताए ।
विपद्को जानकारी प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहत कार्य अघि बढाइएको मुख्यमन्त्री थापाले बताए । आफू सोही दिन दिउँसो नुवाकोटको विदुरस्थित बट्टार पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेको र प्रदेशका चारवटा अस्पतालबाट १०० भन्दा बढी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए ।
प्रभावित क्षेत्रमा तत्काल तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको तथा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको उनले बताए । घरबारविहीन तथा परिवारका सदस्य गुमाएका नागरिकलाई चारवटा अस्थायी सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको उनको भनाइ छ ।
मुख्यमन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यका आधारमा उद्धार तथा राहतको काम अघि बढाइएको बताए । घाइते तथा जोखिममा रहेका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गर्ने र प्रदेश सरकारले उपचारको व्यवस्था गर्ने गरी काम गरिएको उनले जानकारी दिए ।






