जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिन्छ: नेपाली सेना

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीले करिब ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा ती आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको नेपाली सेनाले बताएको छ । सोमबार आयोजित ब्रिफिङमा परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नफसेको सेनाको भनाइ छ ।

‘परियोजनाबाट दिइएको ९ सय हाराहारी संख्या टनेलभित्र फसेका व्यक्ति होइनन्,’ आफ्नो प्रस्तुति दिँदै सेनाका एक प्रतिनिधिले भने, ‘त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्ति हुन् । हाराहारी १२१ जना मात्रै टनेलभित्र फसेको देखिन्छ ।’

सरकारले खोजबिन बन्द गर्ने निर्णय नगरेसम्म आफूहरूले खोज तथा उद्धारको काम जारी राख्ने समेत सेनाले बताएको छ । ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, तबसम्म यो जारी रहन्छ,’ उनले भने, ‘अथवा सरकारले नै अब बन्द गर्ने भन्ने निर्णय नगरेसम्म जारी राख्छौं। हाम्रो आशा अहिलेसम्म मरेको छैन।’

कुन सुरुङमा सेनाले के गरिरहेको छ ?

रसुवागढी जलविद्युत् आयोजना: खोज तथा उद्धार टोली, द्रुत प्रतिकार्य टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य गरेको । त्रिशूली–३ ए : पावरहाउस तथा सुरुङमा नेपाली सेनाको टोली उद्धार सामग्रीसहित निरन्तर खोज तथा उद्धारमा खटिएको ।

त्रिशूली–३ बी : अडिट–२ बाट प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको। अडिट–२ को सुरुङबाट उत्खनन मेसिन लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ । हालसम्म कुनै व्यक्ति वा अन्य सामग्री फेला परेको छैन ।

चिलिमे हाइड्रो : विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सानो उत्खनन मेसिन र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्रको लेदो हटाउने काम गरेको छ । हेलिकप्टरबाट स्याफ्रुबेंसीमा झारिएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रमा लैजाने काम भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ : विदेशी प्राविधिकसहितको टोलीले तापीय क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी कार्य गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *