नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको छ।
उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएको रास्वपा सांसद श्रीराम न्यौपानेले बताएका छन्।
घटनास्थलमै रहेका सांसद न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा जुटेको छ।
उनले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको उल्लेख गर्दै उद्धार कार्य तीव्र पारिएको बताएका छन्।
न्यौपानेले उद्धारमा खटिएका सुरक्षा निकाय तथा प्राविधिक टोलीको प्रयासको प्रशंसा गर्दै सुरुङभित्र फसेका सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।






