बाढीका कारण एनआईसी एशिया बैंकका ३ शाखा कार्यालयमा पूर्णरूपमा क्षति, सबै कर्मचारीहरु सुरक्षित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेका छन् ।

आवश्यक परेमा कर्मचारीहरू र परिवारका सदस्यहरूसहितलाई हेलिकोप्टरमार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्रबहादुर रावलले जानकारी दिए ।

रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयहरू पूर्णरूपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने अधिकृत रावलले जानकारी दिए। साथै, बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ।

बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले हालसम्म सम्पर्कमा नआएकाहरूको सकुशल रूपमा छिटो उद्धार र उक्त घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *