नेपालको बाढीप्रति अमेरिकाद्वारा गहिरो समवेदना, ५ लाख डलर राहत सहायता घोषणा

काठमाडौं । नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति अमेरिकाले गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो विपद्बाट प्रभावित सम्पूर्णप्रति सहानुभूति प्रकट गरेको हो।

अमेरिकी विदेश मन्त्रालयले स्थितिलाई नजिकबाट नियालिरहेको र उद्धार कार्यमा सघाउ पुर्‍याउन प्रभावित क्षेत्रमा एक जना विपद् व्यवस्थापन सल्लाहकार परिचालन गरिरहेको जनाएको छ।

मन्त्रालयले क्थलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, पानी, सरसफाइ तथा स्वच्छता सहायताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।

काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा सहायताका लागि स्थानीय अधिकारीहरूसँग निकट रहेर काम गरिरहेको छ। बाढीसँग सम्बन्धित आपत्कालीन सहायता आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकलाई दूतावासको इमेलमा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *