कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्टसहित प्रधानमन्त्री बालेनले पठाए संसद् सचिवालयमा पत्र

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै स्वास्थ्य प्रतिवेदनसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन्।

स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहित पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाउने निर्णय गरेको थियो। तर स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्य प्रतिवेदनसहित सचिवालयलाई जानकारी गराउनुपर्ने निर्णय समितिले गरेको थियो।

सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य प्रतिवेदनसहित पत्र पठाएका हुन्।

सचिवालयमा पठाइएको प्रतिवेदनअनुसार प्रधानमन्त्री शाहलाई आँखामा उज्यालो सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको छ। उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।

लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षण प्रतिवेदनमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *