काठमाडौं । आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत गरी उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
काबेली हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दासहित सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०८२ मंसिर ८ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न भदौ २७ गते पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा बिहान १० बजे सभा सुरु हुनेछ ।
साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले टुंगो लगाउनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गतेदेखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार भदौ १८ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।




