भक्तपुरको डेरी उद्योगमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगको ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ।

विभागमा परेको उजुरीका आधारमा साउन १५ गते भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रा.लि.’ मा गरिएको अनुगमनका क्रममा दूधको नमुना परीक्षण गर्दा मापदण्डभन्दा न्यून गुणस्तरको भेटिएको हो।

विभागका अनुसार दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र पाइएपछि उक्त दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो।

यसैगरी, विभागले कागेश्वरी मनोहरा–७ स्थित ‘ए वान पोलीमर एण्ड वेभेरेज प्रा.लि.’ मा पनि अनुगमन गरेको छ। उक्त उद्योगमा सरसफाइ र भौतिक पूर्वाधारमा कमजोरी देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

उक्त उद्योगबाट संकलन गरिएको नमुना थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *