काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
ब्युरोका एसएसपी अनुपमशमशेर जबराले पन्तलाई बैंकिङ कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार, पन्तलाई बुधबार नै अदालत हाजिर गराइएको छ । ‘अदालतले २ दिन हिरासतमा राख्ने अनुमति दिएको छ, यो म्याद मिलानका लागि हो,’ उनले भने ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुँदैछ। यस कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् ।
प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियोे। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबीले जनाएको छ ।




