एक महिनाभित्र ६ कम्पनीको सेयर लकइन अवधि सकिँदै

काठमाडौं । आगामी एक महिनाभित्र ६ वटा कम्पनीको सेयरमा रहेको लकइन अवधि सकिने भएको छ। लकइन अवधि सकिएपछि संस्थापक, कर्मचारी, प्रभावित स्थानीय तथा सामूहिक लगानी कोषको नाममा रहेको सेयर बजार मूल्यमै कारोबार गर्न सकिनेछ।

नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार लकइन अवधि सकिनुभन्दा एक महिना अघि सेयर रजिष्ट्रारले सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था छ।

आज (बुधबार) देखि कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि सकिँदैछ। त्यसपछि सोलु हाइड्रोपावरको ५ लाख कित्ता सेयरमा साउन ११ गते, भुजुङ हाइड्रोपावरको ५० हजार कित्ता सेयरमा साउन २६ गते तथा अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरमा साउन २८ गते लकइन अवधि समाप्त हुनेछ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमा साउन ३० गते लकइन अवधि सकिनेछ भने होटल फरेस्ट इनको सामूहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयर भदौ ३ गतेदेखि कारोबारका लागि खुला हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *