समस्याग्रस्त सहकारीबाट १ करोड २० लाख कर्जा असुली

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गरी ५९ लाख ४ हजार रुपैयाँ बचतकर्तालाई फिर्ता गरेको छ।

समितिको विवरण अनुसार २०८३ साल जेठ महिनामा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ वटा सहकारी संस्थाका १ हजार ४ सय ५२ जना बचतकर्तालाई उनीहरूको रकम फिर्ता गरिएको हो । सहकारीबाट प्राप्त असुली रकमलाई साना बचतकर्ताको दाबी व्यवस्थापनमा प्रयोग गरिएको समितिले जनाएको छ ।

यस अवधिमा ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता भएको, १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत समायोजन गरिएको तथा १२ वटा समस्याग्रस्त सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा उठाइएको समितिको कार्यालयले जानकारी दिएको छ ।

सहकारी क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित बनाउन समितिले बचत फिर्ता, कर्जा असुली र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि लागू गरी सोही आधारमा पुनर्संरचना तथा व्यवस्थापनका गतिविधि अघि बढाएको जनाएको छ । संस्थागत सुधारका लागि सार्वजनिक सूचना प्रकाशन, संगठनात्मक संरचना स्वीकृति तथा कर्मचारी व्यवस्थापनका कामसमेत अगाडि बढाइएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको पहिचान, कानुनी प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन तथा ऋणीको तीन पुस्ते विवरण तयार गर्ने काम नियमित रूपमा गरिरहेको जनाएको छ । बचत फिर्ताका लागि प्राप्त करिब ४४ हजार दाबी निवेदनमध्ये प्रमाणीकरण प्रक्रिया चरणबद्ध रूपमा भइरहेको छ ।

१० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ वटाको प्रक्रिया सम्पन्न भइसकेको समितिले जनाएको छ । अन्य सहकारीबाट पनि क्रमशः रकम फिर्ता भइरहेको तथा केही संस्थामा तेस्रो पक्षमार्फत भएको भुक्तानीको विवरण संकलन भइरहेको छ ।

बाँकी सहकारीको दाबी परीक्षण जारी रहेको र आवश्यक सुधार तथा पुनरावलोकनका लागि छुट्टै सहायता कक्ष सञ्चालन गरिएको समितिले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *