काठमाडौं । साविक विश्व च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा उपाधि रक्षा अभियानको सानदार सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा हजारौं दर्शकमाझ कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै अर्जेन्टिनालाई अल्जेरियामाथि ३–० को जित दिलाए।
३८ वर्षीय मेस्सीले खेलको १७औँ मिनेटमा रोड्रिगो डे पलको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। त्यसपछि ६०औँ र ७६औँ मिनेटमा थप गोल गर्दै उनले विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गरे।
यो ह्याट्रिकसँगै मेस्सीले विश्व फुटबलमा थुप्रै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसअघि विश्वकपमा १३ गोल गरेका उनले तीन गोल थप्दै कुल १६ गोल पुर्याएका छन्। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्।
अल्जेरियाविरुद्धको ह्याट्रिकसँगै मेस्सी विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। उनले ३८ वर्ष ३५७ दिनको उमेरमा उक्त उपलब्धि हासिल गर्दै यसअघि क्रिस्टियानो रोनाल्डोको नाममा रहेको कीर्तिमान तोडे।
त्यस्तै, मेस्सी विश्वकपको छैटौँ संस्करण खेल्ने पहिलो फुटबलर बनेका छन्। उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ वटा विश्वकप खेलेका छन्।
यो खेल मेस्सीको अर्जेन्टिनाका लागि २००औँ अन्तर्राष्ट्रिय खेलसमेत रह्यो। आफ्नो २००औँ खेललाई उनले अविस्मरणीय बनाउँदै ह्याट्रिकसहित टिमलाई विजयी गराए।
खेलको १७औँ मिनेटमा गरेको गोलसँगै मेस्सीले विश्वकपमा डिबक्स बाहिरबाट गरेको गोल संख्या पाँच पुर्याएका छन्। यससँगै उनले ब्राजिलका पूर्वखेलाडी रिभेलिनोको कीर्तिमान बराबरी गरेका छन्।
विश्व फुटबलका थुप्रै कीर्तिमान आफ्नो नाममा राखिसकेका मेस्सीका लागि यो विश्वकपको पहिलो ह्याट्रिक हो। यसअघि विश्वकपमा उनले ह्याट्रिक गर्न सकेका थिएनन्।
यस्तै, विश्वकपमा आफ्नो २७औँ खेल खेल्दै उनले सर्वाधिक विश्वकप खेल खेल्ने खेलाडीको आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन्।
अर्जेन्टिनाका लागि मेस्सी सर्वाधिक कम उमेरमा गोल गर्ने तथा सर्वाधिक बढी उमेरमा गोल गर्ने खेलाडीसमेत बनेका छन्। साथै साविक विश्व विजेताका रूपमा मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो खेल जितेको यो इतिहासकै पहिलो पटक हो। यसअघि १९८२ र १९९० मा साविक विजेताको रूपमा प्रतियोगितामा प्रवेश गर्दा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो।
एकै खेलमा ह्याट्रिक, कीर्तिमानको बराबरी र नयाँ इतिहास रचेपछि मेस्सी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा पुगेका छन्।






