काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै नयाँ इतिहास रचेका छन्।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न समूह चरणको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दा मेस्सी एक्लैले तीन गोल गरे। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरेका हुन्।
छैटौँ पटक विश्वकप खेलिरहेका ३८ वर्षीय मेस्सीका लागि यो विश्वकप करिअरको पहिलो ह्याट्रिक हो। यससँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोसको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सी विश्वकपको छैटौँ संस्करण खेल्ने पहिलो फुटबलर बनेका छन्। अल्जेरियाविरुद्धको खेल उनको अर्जेन्टिनाका लागि २००औँ अन्तर्राष्ट्रिय खेलसमेत थियो।
चार वर्षअघि कतारमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले विश्वकपमा आफ्नो २७औँ खेल खेल्दै अर्को कीर्तिमान पनि कायम गरेका छन्। अर्जेन्टिनाले प्रतियोगिताको सुरुआत प्रभावशाली जितसँगै गरेको छ।






