काठमाडौं । भारतले नेपाली चियाको आयातमा नयाँ प्राविधिक कडाइ लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग गम्भीर संकटमा परेका छन्।
निर्यात ठप्पजस्तै बनेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालमा आबद्ध ५३ वटा उद्योगले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको छ।
भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको उनले बताए।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेसँगै समस्या चुलिएको हो।
नयाँ व्यवस्थाअनुसार प्रत्येक खेपको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने तथा नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।
उद्योगीहरूका अनुसार यसले नेपाली चियाको निर्यात प्रक्रियालाई झन्झटिलो बनाएको छ।
भारतीय बजारमा बिक्री अवरुद्ध हुँदा उद्योगमा उत्पादन थन्किएको र किसानबाट खरिद गरिएको हरियोपत्तीको भुक्तानी व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ।
उद्योग बन्द हुँदा सूर्योदय नगरपालिकाका करिब तीन हजार चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्।
नगरपालिकामा ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब दुई करोड किलो हरियोपत्ती उत्पादन हुने गरेको तथ्यांक छ।
सूर्योदय नगरपालिकाले भारतीय अवरोध हटाउन नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।
नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भारतीय चिया बोर्डले कोलकातामा पुगेका नेपाली चियाको प्रत्येक बोराबाट नमूना परीक्षण गरिरहेको र प्रतिवेदन नआउँदा बिक्री पूर्णरूपमा रोकिएको बताए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गर्छ।
वार्षिक सवा चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ।
उद्योगीहरूले निर्यात अवरोध हटाउन सरकारले तत्काल पहल नगरे नेपाली चियाको प्रमुख बजार गुम्ने र उद्योग तथा किसान दुवै गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी दिएका छन्।






