परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले परीक्षा हलमा भेटिएका मोबाइल फोन र ती उपकरणमा रहेका डेटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता अनिलकुमार साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाले २०८२ जेठ १३ गते जारी गरेको सूचनामा उल्लेख गरिएका परीक्षा हलभित्र फेला परेका मोबाइल फोन तथा त्यसमा रहेका डेटा जफत गरी नष्ट गर्ने कार्य नगर्न भनिएको छ।

सुविधा र सन्तुलनको दृष्टिले तत्काल मोबाइल तथा डेटा नष्ट गरिएमा अपूरणीय क्षति हुन सक्ने देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ।

अदालतले आदेशको जानकारी सम्बन्धित पक्षलाई दिन पनि निर्देशन दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *