काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी दिएको हो।
महानगरको न्यायिक समितिले यसअघि नै ती सहकारीहरूले भाडामा लिएका स्थान खाली गर्नुपर्ने निर्णय गरिसकेको थियो । सोही निर्णय कार्यान्वयनका लागि गत जेठ १३ गते बसेको कार्यान्वयन समितिको बैठकले १५ दिने म्याद दिएर सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको हो ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘तपसिलमा उल्लिखित विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुहोला।’
यदि तोकिएको १५ दिनभित्र सम्बन्धित सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी वा कुनै पनि सदस्य महानगरको सम्पर्कमा नआएको खण्डमा न्यायिक समितिको निर्णयअनुसार घर वा कोठा खाली गराइनेछ। यसरी कार्यालय खाली गराउँदा त्यहाँ रहेका सहकारीका सम्पूर्ण सरसामान सम्बन्धित घरधनीको जिम्मा लगाइने महानगरले प्रस्ट पारेको छ। कार्यालय खाली गराएपछि ती सम्पत्ति र सरसामानका विषयमा सहकारीले कुनै पनि दाबी विरोध गर्न नपाउने कुरासमेत सूचनामा उल्लेख गरिएको छ।
महानगरको कारबाही सूचीमा पर्ने सहकारीहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी, वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
यसैगरी महानगरको विवरणअनुसार यी सहकारीहरूले क्रमशः नीलु गुरुङ, केशवराज भट्टराई, युवराज पङ्गेनी, कल्पना शर्मा, शारदा हाडा र कृष्णकुमारी वाडेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएका थिए ।






