भोलिदेखि सुरु हुँदै बजेट अधिवेशन

काठमाडौँ । संघीय संसदको ११औँँ अधिवेशन (बजेट अधिवेशन) मंगलबारबाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रतिनिधि सभामा पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेक सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले फौजदारी कुसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८“ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

नवौं र दशौं अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *