काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २५औँ स्मृति दिवसको अवसरमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार ललितपुरमा आयोजित श्रद्धाञ्जली समारोहमा प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना रहेको बताए ।
उनले भने,‘२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना हो।’
उनले प्रतिष्ठानले दरबार हत्याकाण्डलाई नेपालको इतिहासको कालो दिनका रूपमा स्मरण गर्दै उक्त दिनलाई आधिकारिक रूपमा कालो दिनको रूपमा दर्ज गर्न सरकारसँग माग गरे ।
त्यस्तै,उनले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकास र प्रजातन्त्रका पक्षधर शासकका रूपमा उल्लेख गर्दै उनले अघि सारेको ‘नेपाललाई शान्ति क्षेत्र’बनाउने प्रस्तावलाई ऐतिहासिक योगदानका रूपमा स्मरण गरे ।
उक्त प्रस्तावमा ११६ राष्ट्रले समर्थन जनाए पनि केही देशको विरोधका कारण कार्यान्वयन हुन नसकेको बताए ।
राजा वीरेन्द्रको निधनपछि नेपालको राजनीतिक अवस्था अस्थिर बनेको र राष्ट्रले दीर्घकालीन शान्ति तथा स्थायित्व प्राप्त गर्न नसकेको उनले टिप्पणी गरिएको छ ।
उनले राजा वीरेन्द्रको योगदान र आदर्शलाई राष्ट्रिय एकता र शान्तिको आधारका रूपमा आत्मसात गर्नुपर्नेमा जोड लिए ।
प्रतिष्ठानले सरकार तथा सम्बन्धित निकायलाई दरबार हत्याकाण्डको निष्पक्ष छानबिन, ऐतिहासिक तथ्य सार्वजनिक तथा राजा वीरेन्द्रको योगदानको संरक्षण र सम्मानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा देशमा स्थायी शान्ति, सद्भाव र राजनीतिक स्थायित्वका लागि राजा वीरेन्द्रको विचार र शान्ति क्षेत्रको अवधारणालाई पुनः स्मरण गर्नुपर्ने उल्लेख गरिएको छ ।






