काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
त्यसमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्म मन्त्रालयको कन्ट्रोल रुममा १६० वटा फोन कल, ५० वटा इमेल, ११० वटा अनलाइन म्यासेज तथा १० जना सेवाग्राहीले प्रत्यक्ष उपस्थित भएर गुनासो दर्ता गराएको जानकारी दिए।
उनका अनुसार पछिल्लो समय फोन कल तथा म्यासेजको संख्या घट्दै गएकाले कन्ट्रोल रुमको सेवा समय २४ घण्टाबाट घटाएर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो।
Artha Sanjal






