काठमाडौं । सांसद इन्दिरा राना मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनबारे पार्टीको औपचारिक धारणा स्पष्ट गर्न माग गरेकी छन्।
शुक्रवार सिंहदरबारस्थित संसदीय दलको बैठकमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गर्ने क्रममा सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने विषयमा सरकार र स्थानीय तहले गरिरहेका गतिविधिबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएकी हुन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाइन्। उनका अनुसार केन्द्र सरकारको निर्देशनको हवाला दिँदै झापालगायतका स्थानीय तहहरूले सुकुम्बासी बस्ती खाली गराउन सूचना जारी गरिरहेका छन्, जुन उचित नभएको उनको भनाइ छ।
उनले काठमाडौंमा भएको सुकुम्बासी हटाउने घटनालाई आधार बनाएर अन्य स्थानीय तहले धमाधम बस्ती हटाउने प्रक्रिया अघि बढाउनु गलत भएको बताइन्।
‘सुकुम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको धारणा के हो ? मैले स्पष्ट रूपमा पार्टीको धारणा आउनुपर्ने कुरा राखेँ,’ उनले भनिन्, ‘नदी संरक्षण गर्नुपर्छ भन्ने कुरा कानूनमै छ। तर काठमाडौंमा सरकारले सुकुम्बासी हटायो भन्दै झापामा पनि सूचना जारी गरेर खाली गराउन खोज्नु ठीक होइन।’
सभापति लामिछानेले अन्य प्रदेशका सांसदहरुसँग पनि यस विषयमा छलफल गर्ने बताएका छन्।






