सडक डिभिजन कार्यालय लहानले तोड्यो ५ रुग्ण ठेक्का

सप्तरी । सडक डिभिजन कार्यालय सप्तरीले लामो समयदेखि अलपत्र पारिएका ५ वटा रुग्ण ठेक्का तोडेको छ। ठेक्का तोडिएका सडक आयोजनाहरु आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ मा सम्झौता भएका थिए ।

सम्झौता अनुुसार काममा प्रगति नभएपछि कार्यालयले ठेकेदार कम्पनीलाई ठेक्का किन नतोड्ने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

सप्तरीको शम्भुनाथस्थित साह इन्जिनियर कन्स्ट्रक्सनले ठेक्का लिएका राजबिराज हुमाननगर–भारदह सडक, रूपनी–राजबिराज सडक र राजबिराज छिन्नमस्ता सडकको ठेक्का तोडिएको छ ।

यस्तै सप्तरीकै बलुवाही खोला ललापट्टी पुल निर्माणको ठेक्का पाएको यकथुवाहाङ्ग बिपी जेभी लहानसँगको पनि ठेक्का तोडिएको छ ।

यसैगरी उदयपुर जिल्लाको कोजोमा खोला पुल निर्माणको ठेक्का लिएको वाईपी विकास ब्रदर बजरंगी जेभी जनकपुरधामसँगको पनि ठेक्का तोडिएको छ ।

कार्यालयले सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने तथा बाँकी रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *