काठमाडौं । सानिमा बैंकको २ अर्ब रुपैयाँबराबरको ‘सानिमा अविमोच्य अञ्चिति अग्राधिकार शेयर’ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेका अनुसार बैंकको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार शेयर सूचीकृत गरिएको हो।
बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।
सानिमा बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको थियो।
अब सानिमा बैंकको अग्राधिकार शेयर पनि भोलि शुक्रबारबाट कारोबारमा आउनेछ। यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।






