झन्डै ३० खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडाैं । नेपालको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म यो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।

चालु आव वैशाख मसान्तसम्म सार्वजनिक ऋणमा ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँ बराबर भार थप भएको छ । सोही अवधिमा २ खर्ब ३१ अर्ब ९२ करोड बराबर भुक्तानी भएको छ । सोहीकारण १० महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड बराबर भएको कार्यालयको तथ्यांक छ ।

कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। अमेरिकी डलर मजबुत हुँदा विनिमय दरको असरले मात्र बाह्य ऋण दायित्वमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको थप चाप परेको कार्यालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको वैशाखसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ । त्यसमध्ये आन्तरिक ऋण २ खर्ब ९८ अर्ब ६६ करोड रूपैयाँ र बाह्य ऋण ६६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

वैशाखसम्म सरकारले २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ ऋण सेवा खर्च गरेको छ । त्यसमध्ये साँवा भुक्तानी २ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ र ब्याज भुक्तानी ६० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

आन्तरिक ऋणतर्फ सरकारले १ खर्ब ८५ अर्ब ६६ करोड रूपैयाँ साँवा र ५० अर्ब ५२ करोड रुपैयाँ ब्याज तिरेको छ । बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड रूपैयाँ साँवा र १० अर्ब ६ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा सार्वजनिक ऋण झन्डै दोब्बर भएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रूपैयाँ थियो। अहिले यो रकम बढेर झन्डै ३० खर्ब रूपैयाँ पुगेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *