एनआरएनले मुद्दा हाल्ने चेतावनी दिएपछि ३६ जना चिकित्सकको लाइसेन्स खारेजी गर्ने निर्णय फिर्ता

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।
काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।

तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै लाइसेन्स खारेजीको निर्णय फिर्ता लिन माग गरेको थियो ।

एनआरएनए स्रोतका अनुसार उक्त निर्णय फिर्ता नलिए कानुनी उपचारमा जाने तयारी संघले गरेपछि काउन्सिल हच्किएको हो। गैरआवासीय नेपाली संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिलको निर्णयलाई स्वागतयोग्य बताएका छन्। उनले गैरआवासीय नेपालीहरूका सबै अधिकारहरू नेपाली नागरिक सरह हुनुपर्नेमा जोड दिएका छन्।

काउन्सिलले यसअघि ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज’ गर्ने निर्णय गरेको थियो ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार अब संसारभरि रहेका गैरआवासीय नेपाली चिकित्सकलाई दर्ताका लागि आह्वान गरिने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *