काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सबै खेल संघहरुलाई आगामी असार १५ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्न निर्देशन दिएको छ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा विकास नियमावली, २०७९ अनुसार पटक–पटक सूचना जारी गर्दा पनि धेरै संघहरुले नवीकरण प्रक्रिया पूरा नगरेपछि पुनः समयसीमा तोकेर सूचना जारी गरेको हो।
तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ । राखेपको वेवसाइटमा उल्लेख भएअनुसार दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेका छैनन् ।
चर्चित संघ नेपाल क्रिकेट संघ (क्यान)ले पनि नवीकरण गरेको छैन । नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।
आवश्यक सबै कागजात उपलब्ध गराउन नसक्दा कतिपय खेल संघहरुले समयमै नवीकरण प्रक्रिया पूरा गर्न नसकेको बताइएको छ।






