अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठुलो सहयोग चाहिएको बताए । उनले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको स्पष्ट पारे ।

उनका अनुसार लगानी नै आर्थिक सुधारको मुख्य आधार हो । विगतमा सरकारले लिएका नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दै गएको र जलविद्युत् क्षेत्रमा १८ घण्टाको लोडसेडिङबाट विद्युत् निर्यात गर्ने अवस्थासम्म पुगेको उदाहरण उनले प्रस्तुत गरे ।

उपाध्यायले आयात प्रतिस्थापन र उत्पादनमुखी क्षेत्रलाई सहजीकरण गर्ने नीति सरकारले अघि बढाएको उल्लेख गर्दै अहिले सबैभन्दा आवश्यक कुरा निजी क्षेत्रको विश्वास र सुरक्षा भएको बताए । उनले निजी क्षेत्रले सम्पत्तिको सुरक्षा, लगानीको सुरक्षा तथा स्थायित्वको ग्यारेन्टी खोजिरहेको बताए ।

साथै, सार्वजनिक पूर्वाधार विकास र नाफामूलक आयोजनामा निजी क्षेत्रलाई सरकारसँग सहकार्य गराएर अघि बढाउने नीति लिइने संकेत पनि उनले दिए ।

आगामी आर्थिक वर्षको बजेटले विशेषगरी अधुरा आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

उनले अहिलेको अवस्थामा नीजी क्षेत्रको आत्मबल बढाउन जरुरी रहेको बताए । ‘यसमा दुईवटा कुरा हुन्छ एउटा निजी क्षेत्रले सुरक्षाको ग्यारेन्टी खोज्नु भएको छ । त्यो सुरक्षा भनेको सम्पत्तिको सुरक्षा, व्यक्तिको सुरक्षा हो,’ उनले भने, ‘निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा पनि सरकारसँगसँगै लैजाने, नाफामूलक आयोजनाहरुमा लैजान्छौँ ।’

अधुरा आयोजना सम्पन्न गर्नेमा आगामी आर्थिक वर्षको बजेटले विशेष ध्यान दिने अर्थ उपाध्यायको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *