स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत

काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयकाअनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो । प्रस्ताव पारित भएमा नेपालको स्वास्थ्य प्रशासनिक इतिहासमा ३४ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ ।

मन्त्रालयका अनुसार नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं. २०४८ मा निर्धारण गरिएको थियो । ०४८ मा नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर तीन करोड पुगेको छ । तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ ।

नयाँ दरबन्दी सिर्जनासँगै संघीय अस्पताल, प्रदेशस्तरीय स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा चिकित्सक, नर्स, प्राविधिक र अन्य स्वास्थ्यकर्मीको अभाव कम हुने अपेक्षा छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि लामो समयदेखि जनसंख्या वृद्धि, रोगको बदलिँदो स्वरूप तथा स्वास्थ्य सेवाप्रतिको बढ्दो मागअनुसार नयाँ स्थायी संरचना आवश्यक रहेको बताउँदै आएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *