झापाको बिर्तामोडमा सुकुमबासी आन्दोलन सुरु, डोजर आतंक रोक्न र धनीपुर्जा दिन माग

झापा । झापा बिर्तामोडका सुकुमबासीहरुले डोजर आतंक बन्द गर्न माग गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । सुकुमबासी क्षेत्रमा बसोबास गर्नेहरुले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गरेका हुन् ।

वर्षौदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउदै उनीहरुले धनीपुर्जाको व्यवस्था गर्न जोडदार माग गरेका हुन् । देशभर डोजर आतंक सुरु गरिएको बताउदै आन्दोलित सुकुमबासीहरुले नागरिकको आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउदै भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर–टहरा भत्काउने कार्य तुरुन्त रोक्न, वास्तविक सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन र भू–माफियाहरूलाई कारबाही गर्न माग गरेको छ । साथै, डोजर आतंकका कारण ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरी उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत अघि सारिएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले चलाएको डोजर आतंकले भूमिहीन सुकुम्वासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था गरेको र सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था नगरी उठिबास नलगाउन निर्देशन दिएको अवस्थामा सुकुम्वासी बस्तीहरूमा डोजर चलाउनु अमानवीय भएको संघर्ष समितिले जनाएको छ ।

बिर्तामोडमा मात्रै १०३५ भूमिहीन सुकुम्वासी र १५२० अव्यवस्थित बसोवासीहरू रहेको तथ्य प्रस्तुत गर्दै ज्ञापनपत्रमा डोजर आतंकका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दुःखद घटना समेत स्मरण गराइएको छ ।

संयोजक बिष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मुद्वारा हस्ताक्षरित उक्त पत्रमा यी मागहरू यथाशीघ्र पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रने र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ । सयौंको संख्यामा सहभागी सुकुमबासीहरुले सरकारको कडा विरोध गरेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *