एकैपटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर, सवा चार करोड मागदाबी

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार निर्माण सेवा प्रालि तथा त्यससँग सम्बद्ध संयुक्त उपक्रमका बैंक खाताबाट अधिकारीको नाममा रहेको खातामा रकम जम्मा गरिएको पाइएको छ।

उक्त रकम घुसका रूपमा प्राप्त भएको र सोही रकमबाट दुवैले संयुक्त रूपमा सम्पत्ति खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

निर्माण सेवा प्रालिले एकल तथा संयुक्त उपक्रममार्फत पुरातत्व विभागसँग गरेका विभिन्न ठेक्कामध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरका योजनामा चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।

आयोगका अनुसार भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी योजनाबद्ध रूपमा जग्गा तथा सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरिएको पाइएको छ।

गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्यसमेत गरिएको ठहर गरिएको छ।

आयोगका प्रवक्ताका अनुसार दुवै जनाविरुद्ध समान बिगो चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *