काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीत भण्डार निर्माणको अनियमिततालाई लिएर लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
तत्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह-लेखापाल अजय मिश्र । परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया लगायत विभिन्न सहकारीका प्रतिनिधि प्रतिवादीको सूचीमा छन् । स्व. श्याम सुन्दर यादव र स्व. कतवारु गोसाईको हकमा बिगो बमोजिम असुल उपर गर्न उनीहरूका श्रीमतीहरू क्रमश: इनरावती यादव र राजपति गोसाईमाथि पनि मुद्दा लगाइएको छ ।
आयोगका अनुसार सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धाविहीन रूपमा परामर्शदाता छनोट गरिएको, निर्माण कार्य अपूर्ण हुँदाहुँदै गलत नापजाँच प्रतिवेदन तयार गरी झुट्टा बिल बनाएर ७१ लाख ९७ हजार ९८० रूपैयाँ भुक्तानी गरिएको पाइएको छ। उक्त परियोजना हाल जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको पनि उल्लेख गरिएको छ।






