काठमाडौं — श्री एयरलाइन्स ले अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले १८० सिट क्षमताको जेट विमान ल्याएर मध्यपूर्व तथा दक्षिण–पूर्व एशियाका गन्तव्यमा उडान सुरु गर्ने योजना बनाएको हो।
एयरलाइन्सका अनुसार सन् २०२६ को अन्त्य वा २०२७ को सुरुआतसम्म नयाँ जहाज भित्र्याइनेछ। सुरुमा एउटै ठूलो जहाजमार्फत दुबई, कतार र मलेसियालगायत गन्तव्यमा उडान थाल्ने तयारी गरिएको छ।
हाल ती गन्तव्यमा नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स ले सेवा दिँदै आएका छन्। श्री एयरलाइन्सको प्रवेशसँगै प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।
मध्यपूर्वमा करिब १७ लाख नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको आवतजावतमा लाग्ने महँगो हवाई भाडा लामो समयदेखि चुनौतीका रूपमा रहेको छ। श्री एयरलाइन्सले प्रतिस्पर्धात्मक भाडा नीति अपनाए श्रमिकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
कम्पनीले आन्तरिक उडानमा प्रयोग गरिरहेका बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाजमार्फत छोटो दूरीका रुट सञ्चालन गर्दै अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने रणनीति लिएको जनाएको छ।
यसैबीच, कम्पनीले तीन महिनाभित्र भारतका प्रमुख सहरमा उडान सुरु गर्ने तयारी पनि गरेको छ। बजार प्रमुख अनिल मानन्धर का अनुसार कोलकत्तामा परीक्षण उडान सम्पन्न भइसकेको छ। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक प्रक्रियामध्ये अन्तिम चरण पार गरिसकिएको र अब नियामक निकायको स्वीकृतिपछि उडान सुरु हुने उनले बताए।
भारतका नयाँ दिल्ली, कोलकत्ता लगायत सहरमा नेपाली यात्रुको आवागमन बढ्दो छ। सीमित उडानका कारण भाडा उच्च रहेको गुनासोबीच श्रीको प्रवेशले प्रतिस्पर्धा बढाई भाडा घट्ने अपेक्षा गरिएको छ।
सन् १९९८ मा उद्योगपति बनवारीलाल मित्तल ले हेलिकप्टर सेवाबाट सुरु गरेको कम्पनीसँग हाल ९ स्थिरपंख जहाज र ७ हेलिकप्टर गरी १६ वटा वायुयान छन्।
एयरलाइन्सले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीसमेत थालेको जनाएको छ।






