सुर्खेत — कर्णाली प्रदेशका हिमाली जिल्लामा सडक सञ्जाल कमजोर र जोखिमपूर्ण रहेकाले हवाई सेवा नागरिकका लागि बाध्यता बनेको छ ।
तर, प्रदेशभर विमानस्थलको संरचना हुँदाहुँदै पनि नियमित उडान नहुँदा स्थानीयले यात्रा सास्ती भोग्दै आएका छन् ।
कर्णालीका १० जिल्लामध्ये सल्यान, दैलेख र जाजरकोटबाहेक अन्य जिल्लामा विमानस्थल भए पनि तीनवटा पूर्ण रूपमा प्रयोगविहीन छन् । रुकुम पश्चिमको चौरजहारी विमानस्थल पाँच वर्षदेखि बन्द छ ।
२०७२ मा कालोपत्रे गरिएको धावनमार्ग अहिले घाँसे मैदानमा परिणत भएको छ । यसले रुकुम पश्चिम, जाजरकोट र सल्यानका बासिन्दा हवाई सेवाबाट वञ्चित भएका छन् ।
डोल्पाको मसिने चौर विमानस्थल पनि सञ्चालनमा आउन सकेको छैन । २०६६ मा निर्माण सुरु भई २०७२ मा कालोपत्रे सम्पन्न भए पनि हालसम्म परीक्षण उडानसमेत भएको छैन ।
कालिकोटको सुनथराली विमानस्थलमा भने उद्घाटन र परीक्षण उडान भइसके पनि नियमित सेवा सुरु हुन सकेको छैन ।
स्थानीय तहका अनुसार निजी कम्पनीले नाफा नदेख्दा र नेपाल वायुसेवा निगमले जहाज अभाव देखाउँदा सेवा सञ्चालन हुन नसकेको हो ।
प्रदेश राजधानी सुर्खेतबाट दुर्गम जिल्लामा सिधा उडान नहुनु अर्को प्रमुख समस्या बनेको छ । हुम्ला, मुगु, डोल्पा र जुम्ला जान यात्रुहरूलाई सुर्खेतबाट नेपालगन्ज पुगेर मात्रै उडान लिनुपर्ने अवस्था छ ।
तारा एयरले गत वर्ष फागुनमा केही समय सुर्खेतबाट उडान सुरु गरे पनि यात्रु अभाव देखाउँदै चाँडै सेवा बन्द गरेको थियो । हाल सुर्खेतबाट काठमाडौँका लागि मात्र दैनिक उडान भइरहेको छ ।
प्रदेश सरकारले आन्तरिक उडानलाई सहुलियत दिन बजेट विनियोजन गरे पनि कार्यविधि अभावमा अधिकांश रकम खर्च हुन सकेको छैन ।
आर्थिक वर्ष २०७८/७९ यता करिब ७ करोड रुपैयाँ छुट्टाइएको भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । चालु वर्षमा पनि ४० लाख विनियोजन गरिएको छ ।
हवाई सेवाको अव्यवस्थित अवस्थाप्रति प्रदेशसभाले संकल्प प्रस्ताव पारित गर्दै सेवा नियमित बनाउन संघीय सरकारसँग समन्वय गर्ने र सहुलियत दिने नीति अघि सारेको छ । तर, कार्यान्वयनमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि बढ्दो छ ।
कर्णालीमा जटिल बिरामी, गर्भवती र सुत्केरीको उद्धार अझै हेलिकोप्टरमार्फत गर्नुपर्ने अवस्था छ ।
एक वर्षमा २२ जनाको हवाई उद्धार गरिएको तथ्यांक छ । नियमित उडान भएको खण्डमा यस्तो सेवा सस्तो र सहज हुने सरोकारवालाको भनाइ छ ।
विमानस्थल निर्माणमा खर्च भए पनि सञ्चालन अभाव, संघ–प्रदेश समन्वयको कमजोरी र निजी क्षेत्रको नाफामुखी प्रवृत्तिले कर्णालीमा हवाई सेवा प्रभावकारी हुन सकेको छैन ।
विमानस्थललाई पुनः सञ्चालनमा ल्याई राजधानीसँग सिधा हवाई सम्पर्क जोड्नु अहिलेको मुख्य चुनौती बनेको छ ।






