५५ लाख लागतमा खेल मैदान निर्माण

म्याग्दी । मालिका गाउँपालिका–६ डाँडागाउँमा सामुदायिक पहलमा खेलमैदान र भवन निर्माण सम्पन्न भएको छ। हिमाली युवा क्लबको अगुवाइमा करिब ५५ लाख ६५ हजार रुपैयाँ लागतमा उक्त संरचना निर्माण गरिएको हो।

क्लबका अध्यक्ष टुकमान जुग्जाली का अनुसार भिरालो पाखो रहेको ठाउँलाई डोजरमार्फत सम्याएर करिब ६० मिटर जमिन समतल बनाई खेलमैदान तयार गरिएको हो। ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइको मैदानसँगै दुई कोठे भवन, मञ्च र सार्वजनिक शौचालय निर्माण गरिएको छ।

स्थानीय स्तरबाट व्यापक श्रमदान र सहयोग जुटाएर निर्माण सम्पन्न गरिएको क्लबले जनाएको छ। मालिका गाउँपालिकाबाट १७ लाख र गण्डकी प्रदेश सरकारबाट १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो भने समुदायबाट नगद र श्रमदानमार्फत ठूलो योगदान जुटाइएको हो।

यसअघि खेलमैदान अभावका कारण खेल अभ्यास र प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएको थियो। नवनिर्मित सामुदायिक भवनले भेला, बैठक, तालिम र विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा सहजता ल्याएको स्थानीयले बताएका छन्।

खेलमैदानको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ले तथा भवनको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन ले गरेका छन्।

कार्यक्रममा बोल्दै सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकास बढे पनि बसाइँसराइ चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै पर्यटन र कृषिमा आधारित उद्यमतर्फ ध्यान दिन सुझाव दिए।

उद्घाटनसँगै नयाँ वर्षको अवसरमा कासिराम जुग्जाली स्मृति प्रथम कपअन्तर्गत भलिबल र फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *