आजदेखि एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्काशन खुला गरेको छ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेको छ।

यसअघि ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिएको थियो। साथै सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता सेयर छुट्याइएको थियो।

दोस्रो चरणमा बाँकी ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य ७ करोड ८० लाख रुपैयाँभन्दा बढी छ।

कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *