अर्थमन्त्रीसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा स्वर्णिम वाग्ले सँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ।

भेटमा अध्यक्ष उप्रेतीले वर्तमान सरकारबाट अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याइने अपेक्षा व्यक्त गर्दै यसबाट राजस्व वृद्धि र रोजगारी विस्तारमा योगदान पुग्ने बताए।

जवाफमा अर्थमन्त्री वाग्लेले राजस्व संकलन वृद्धि गर्ने उपायमा सरकार केन्द्रित रहेको, करको दर घटाउँदै दायरा विस्तार गर्ने नीति अघि बढाइने तथा निजी क्षेत्रमैत्री वातावरण सिर्जना गरिने बताए। साथै, अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा लगानी वृद्धि र आगामी बजेटका सन्दर्भमा नाडासँग थप छलफल गरिने उनले उल्लेख गरे।

छलफलका क्रममा उप्रेतीले अटोमोबाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको बताए। हालको व्यवस्थामा सिकेडी आयात सहज भए पनि स्वदेशी उद्योग सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो।

उनले टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेटजस्ता वस्तु नेपालमै उत्पादन भइरहे पनि गुणस्तर परीक्षणका पर्याप्त सरकारी संरचना अभाव हुँदा व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गरे। स्वदेशी उत्पादन प्रवर्द्धनका लागि उपयुक्त नीतिगत वातावरण आवश्यक रहेको उनको धारणा थियो।

नाडाले सरकारसमक्ष ३६ बुँदे लिखित सुझावसमेत पेश गरेको छ। नाडाका निवर्तमान अध्यक्ष करण चौधरी ले नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए।

यसैगरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ ले लगानीमैत्री नीति आवश्यक रहेको औंल्याउँदै विद्युतीय सवारी प्रवर्द्धनका लागि स्पष्ट रणनीति ल्याउनुपर्ने बताए। भारतमा जीएसटी घटेपछि चोरी निकासी बढेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने उनको सुझाव थियो।

उपाध्यक्ष विक्रम सिंघानिया ले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेका थिए। छलफलमा नाडाका पदाधिकारीहरू अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल र निलमणी पाठक लगायतको उपस्थिति रहेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *